Sunday, 15 August 2021

लक्ष्मीकांत मुकुल की 6 हिंदी कविताओं का श्री निमेष निखिल द्वारा नेपाली भाषा में किया गया काव्यानुवाद

कवि लक्ष्मीकान्त मुकुलको परिचय

कवि लक्ष्मीकांत मुकुलको जन्म ०८ जनवरी १९७३ मा भारतको बिहारस्थित बक्सरमा भएको हो । स्नातक तहसम्मको शिक्षा हासिल गरेका उनी स्वतन्त्र लेखन तथा सामाजिक कार्यहरूमा सक्रिय छन् । किसान कवि / मौन प्रतिरोध का कवि जस्ता उपनामले चिनिने उनका कविता एवं आलेखहरू विभिन्न पत्रपत्रिका मा प्रकाशित छन् । पुष्पाञ्जलि प्रकाशन, दिल्लीबाट उनको कविता सङ्कलन ‘लाल चोंच वाले पंछी’ प्रकाशित छ । प्रायः ग्रामीण जनजीवनको चित्रण तथा ग्राम्यबिम्बहरूको सुन्दर प्रयोग गरेर कविता लेख्ने कविका रूपमा मुकुलले आफ्नो पहिचान बनाएका छन् । भाषान्तर कविताको यस अङ्कमा कवि लक्ष्मीकांत मुकुलका आधा दर्जन कविताहरूको अनुवाद प्रस्तुत गरिएको छ ।

 _ निमेष निखिल,   हेतौड़ा, नेपाल।


१. बोधा सिंहको पिपल

(बोधा वाला पीपल)

लक्ष्मीकान्त मुकुल

जति बेला गाउँमा बन्दुक बारुदको जोहोमा

व्यस्त थिए मानिसहरू

एक वृद्ध बोधा सिंहले त्यति बेला रोपेका थिए

पिपलको रुख

जसलाई तिमी आज भन्छौ- बोधा सिंहको पिपल

 

घना छहारी भएको त्यो पिपल

उभिएको छ गाउँको सिमानामा

दूर देशबाट आएका  पक्षीहरूको विश्रामस्थल

असङ्ख्य कीटपतङ्गको घर

त्यसैको मुनि सुस्ताउन आउँछन् खैनी माड्दै गरेका श्रमिक

नजिकै बजारबाट फर्केका मान्छे

लुकामारी खेलिरहेका केटाकेटी

 

भन्छन् मानिसहरू- जेठको तातो घाममा

उनी आउँथे काँधमा बाल्टिन बोकेर पिपलमा पानी हाल्न जसरी मान्छे पितृलाई दिन्छन् अँजुलीले जल

आमा चराहरू जसरी चुच्चाले खुवाउँछन् चारो

जसरी भोकमरीका दिनमा पिताले दिन्छन्

आफ्नो भागको गाँस छोराछोरीलाई

 

विवाहित नारीहरू एकाबिहानै आउँछन् भाकलहरू लिएर

धागो बाँध्न पिपलको रुखमा

माइती छोडेर घर हिँडेका छोरीहरू आँखाभरि हेर्छन् त्यसलाई

फेरि कहिले देख्न पाइएला भन्ने आशाका साथ

कमाउन परदेश हिँडेका तन्नेरीहरू वाचा गर्छन् फर्की आउने फेरि त्यसैको छायामा

 

आफ्नै ठाउँमा अडिग उभिएको त्यो पिपल

हावामा लहराएका पात र आफ्ना हाँगाहरूका साथ

हेरिरहेको छ संसारलाई-

बाढीले बौलाएको नदीले

कति पटक नोक्सान गरेको छ बालीहरूलाई

बारम्बार आउने जल प्रलयका कारण डराएर

कसरी गाउँ नै छोडेर हिँड्यो रोशन कोइरी

सम्झना छ उसलाई- अकालका ती दिनमा

कसरी असोज मासमा मर्माहत हुँदै

नफलिकन सुकेका आफैले रोपेका धानका बोट घाँस जसरी काटिरहेका थिए किसान

सम्झन्छ- भवनको अभावमा श्री भगवान् मास्टर त्यसैको छहारीमा कसरी चलाउँथे पाठशाला

गर्मीसित जुधिरहेका, चिसोमा कापिरहेका, पानीमा भिजिरहेका बालकहरूको पीडा सम्झना छ उसलाई

 

सम्झना छ उसलाई- सर्वस्व लुटिएकी वृद्धा व्याकुल भएर रोइकराई गर्दै आउँथिन् उसैका छेउ

कापिरहेको मनले सम्झन्छ त्यो शिशुहन्ता आमालाई

जो आफूलाई नचाहिएको नवजातलाई बन्द गरेर घडामा

यही बाटो भएर गएकी थिई मिल्काउन घाटमा

 

यो नश्वर संसारमा अब

सशरीर भेटिने छैनन् ती वृद्ध, जसको नाम थियो बोधा सिंह- पञ्चतत्त्वमा विलीन भएर पनि जीवित छन् उनी

पिपलको रुखमा सास फेरिरहेका

दिनानुदिन स्वार्थी भयभीत असहाय हुँदै गइरहेको यो संसारमा

मनुष्यताको प्रतीक बनेर ।

••

 

२. बाइसौँ शताब्दीमा

(बाइसवीं सदी में)

लक्ष्मीकांत मुकुल

अनि ध्वाँसो पोतिए नसरी सहर

टाँगिने छन् गाउँका क्षितिजमा

तिमी छुट्याउन सक्ने छैनौ भिन्नता

छक्क पर्ने छन् केटाकेटीहरू

एउटा ट्याब्लेटमा निल्दै भोजनका सारा तत्त्व

कुनै दिन माटोका घरमा बल्थे साझा चुलाहरू

कैयौँ पिढीका मानिसहरू सगैँ बस्थे झुप्राहरूमा

नातागोताका मधुर सम्बन्धहरूको हुन्थ्यो तानाबाना

कुनै एक सदस्य बिरामी हुँदा सुस्ताउँथे घरका सारा खुसी

 

बाइसौँ शताब्दीमा जब दिनानुदिन नयाँ प्रविधिहरूबाट

संसार भइरहेको हुने छ सञ्चालन

भङ्ग भइसकेका हुने छन् परिवार, विवाह, सम्बन्धहरूका पुराना भइसकेका मानक

मान्छेभन्दा बढी रोबोटको हुने छ माग

पेपरलेस, क्यासलेसभन्दा पनि अगाडि बढ्दै समातेर सूक्ष्म प्रविधिहरूको पुच्छर

सभ्यताको उचाइ छोइरहेका हुने छन् मानिसहरू

तब आश्चर्यचकित हुने छौ तिमी यो थाहा पाएर-

यसै गाउँको छेउहुँदै बग्थ्यो एउटा स्वच्छ नदी

जसको किनारमा तरकारी रोप्दै एउटा किसान कवि

आलीमा बसेर लेख्यो आक्रोशले भरिएका कविताहरू

 

यो त्यस्तो समय हुने छ जब पानी मिसाइएको दुध जसरी मिसिने छन् मानिसहरु एकअर्कासँग

मानिसहरूले बिर्सेका हुने छन् अँगालो, स्पर्श, चुम्बन, चञ्चलता

जीवनमा क्षीण भएका हुने छन् नवरस, चार भाव र पञ्चतत्त्वको महत्त्व, ज्ञान-कर्म-इन्द्रियको प्रयोग

ती छक्क पर्ने छन् यो थाहा पाएर-

कुनै दिन तन्मयतापूर्वक लेखिने गर्थे प्रेम पत्र

नर्कटको मसी चुर्लुम्म डुब्थ्यो आँसुका थोपामा, विरह-वेदना-पीडा जस्ता शब्दहरू बुझ्ने छैनन् ती

 

यस्तो समय हुने छ त्यो- एउटा बच्चा सोध्ने छ उसकी आमालाई म जन्मेका बेला कोसँग थियौ तिमी

एउटा अधबैँसे फुर्दमा सम्झन खोज्ने छ- उसँगै सुतेकी आइमाईका छोराछोरी कति ठुला भए होलान्

सिमीको लहरा जसरी फैलिएका आनुवंशिक नाताहरू समयको रापमा जलिसकेका हुने छन्

हजुरबा, हजुरआमा, फुपूहरूसँगको सम्बन्ध

पछौटेपनको सङ्केत मानिन्छ होला

नयाँ सम्बन्धको डोरीमा बाँधिदै गरेको हुने छ संसार

 

त्यो समय हुने छ जब

मानिसले मङ्गल र चन्द्रमामा बसाइसकेका हुने छन् बस्तीहरू एलियनहरूसित सुमधुर सम्बन्ध भइसकेको हुने छ

वैज्ञानिकहरूले पत्ता लगाइसकेका हुने छन् कालक्रमलाई नियन्त्रण गर्ने तरिका, मेडिकल साइन्सले खोजिसकेको हुने छ

जीवात्माहरूको प्रत्यारोपणको सिद्धान्त, मनव शरीरमा लेजर लाइटले चिप्स हालेर अमरत्व प्रदान गर्ने गुण

तबसम्म सगरमाथाको टुप्पामा खुलिसकेका हुने छन् रेस्टुँराहरू, अन्तरिक्ष सटलमा भइरहेको हुने छ यौनक्रीडाहरूको रोमाञ्चक रियालिटी सो, हत्केलामा हाइड्रोजन बम बोकेर खेलिरहेका हुने छन् शक्तिशाली मानिसहरू

 

बाइसौँ शताब्दीमा हराउने छन् नदीहरू बालुवाको गर्तभित्र

छओटै ऋतु र बाह्रै महिना कहिल्यै देखिने छैनन् इन्द्रधनुषी पदचिह्न

सङ्घर्ष, मतदान, अधिकार, समानताका अर्थहरू बिर्सिसकेका हुने छन् मानिसले

प्रविधि-सम्राट्हरूका हातमा आउने छन् राज्यसत्ता

विकसित हुने छन् क्रूरता, प्रताडना र दण्डविधानका नयाँ नयाँ तरिका

 

यी सबैका विपरीत एउटा ठुलो जनमानस

बाँचिरहेको हुने छ टुकी बाल्ने युगमा

भोक, गरिबी, बेघरबार, बेरोजगारीले पीडित

जहाँ गोठालाहरू भैँसी चराउँदै खेलिरहेका हुने छन् डन्डीबियो, एउटा बालक अम्खराले पानी हालिरहेको हुने छ फूलमा

एउटी आमा आफ्नी छोरीलाई सिकाइरहेकी हुने छिन् रोटी बेल्न ।

••

३. बिहारी

लक्ष्मीकांत मुकुल

दुखका पहाड शिरमाथि बोकेर

हिँडिरहन्छन् यी बिहारी

सुरत, पन्जाब, दिल्ली जताततै

हाड घोटेर मेहनत गरिरहँदा पनि

तिनको मनको कुनामा बसेको हुन्छ गाउँ

जहान केटाकेटीको उन्मुक्त हाँसो

महानगरको रप्तरङ्गी भिडमा

चर्को घाममा भारी बोक्दै गर्दा पनि

आउँछ उनीहरूको पसिनाबाट गाउँको सुवास

कमाउन परदेश गएका यी युवकहरूको

जरा फैलिन पाउँदैन त्यहाँको धरतीमा

बबुलको रुखमा झुन्डिएका लहरा जसरी

गुजार्छन् आफ्नो जीवन

मूल निवासीका वक्रोक्तिले क्रुद्ध भएर

खट्दै कम ज्यालामा

फर्कन चाहन्छन् आफ्नै गाउँ

त्यसै बेला सम्झन्छन्- मुलसधारे पानीले भत्कँदै गरेको घर

बाको ओइलाएको अनुहार, पत्नीको सुनसान मझेरी

टालेका लुगाले आङ ढाकिरहेका छोराछोरी

नोकरीका लागि सहरी बनेका,

व्यापारका उद्देश्यले गाउँ छाडेका मान्छे जस्ता हैनन् यी युवक

जो पुर्ख्यौली गाउँलाई ठान्छन् आफ्नो जैविक उपनिवेश

 

बिहारबाट कमाउन बाहिर गएका

युवकका हृदयमा मगमगाउँछ माटोको सुवास

तिनको पसिना चुहुँदा

खित्खिताउँछ गाउँको गुलाबी अनुहार ।

••

 

४. पञ्चायत चुनावमा गाउँ

(पंचायत चुनाव में गाँव)

लक्ष्मीकांत मुकुल

नदीमा जाल हान्छ माझी

उफ्रिन थाल्छन् माछाहरू

पञ्चायत चुनावको घोषणा हुनासाथ

चिरनिद्राबाट बिउँझन्छन् नरमेध गर्ने

भोटका व्यापारी

क्रमशः फस्दै जान्छन् मान्छेहरू तिनको पासोमा

राजनीतिको दाउपेच जान्ने

सिपालु खेलाडीका चङ्गा देखिन्छन् टाढाबाटै

पुलकित छन् मुहार घर घरमा सुरुङ बनाउनेहरूका

छुत अछुतको अन्त्य अहिलेसम्म गर्न नसके पनि संविधानले

भत्कँदै छन् पर्खालहरू बिस्तारै

मासु भरिएका थाल र रक्सीका बोतलमा

दौडिरहन्छन् काँचा मासुहरू मादकता पोख्दै

पञ्चायतभित्र र बाहिर

 

चुनावअगाडि नै बाँढिन्छन् योद्धाहरूद्वारा

मौखिक रूपमा योजनाहरू

धर्म, जाति, सम्बन्धका माकुरे जालमा

लामखुट्टेको बजार जसरी किनिन्छन् भोट

बिक्रीका लागि अतुर देखिन्छ गाउँको अनुहार

क्रेता-विक्रेताको प्रेममा रङ्गिन्छ चुनावी बजार

 

जसले बेच्दैनन् आफ्नो भोट व्यापारीलाई

नरमेधकहरूको गिद्धेदृष्टि रहिरहन्छ उनीहरूमाथि

तिनका खेतहरूले भेट्दैनन् पानी

निकालिन्छन् तिनका छोराछोरी स्कुलबाट

थुनिन्छन् तिनको घरबाट बाहिरनिस्कने बाटाहरू

तिनका घरका आइमाईहरू निरन्तर रहन्छन् असुरक्षित ।

••

५. को हो त्यो

(कौन है वह )

लक्ष्मीकान्त मुकुल

 

कसले खनिरहेछ हाम्रो घर करेसाको कुनो

जहाँ राखेका छौँ हामीले स्थानीय कोदोको बिउ जतनसँग

कसले चुपचाप उडाएर लैजाँदै छ

पातमा पस्केको हाम्रो घरेलु व्यञ्जन

 

यो नयाँ शताब्दीको नौलो ठग हुनुपर्छ ऊ

जो दिनदिनै नयाँ मोबाइल कम्पनीका उत्पादनहरूले

निमोठिरहेछ हाम्रा नानीहरूको कोमलता

 

ऊ त्यही धूर्त त हैन जो हाम्रो माटोमा जन्मेका

दुधालु पशुहरूलाई पुर्‍याएरहेछ बधशाला

र बदलामा फिर्ता गरिरहेछ फ्रिजियन जर्सी नस्लका गाईहरू

 

त्यो पक्कै गाँठो बाँधेर राखेको धन चोर्ने चोर हो यो समयको

जो आँप, जामुन, काभ्रो, वर र पिपल काट्दै

लिप्टस, क्याक्टस र पपुलरको जङ्गल लगाउने सल्लाह दिँदै छ

 

को हो त्यो ?

जो खोस्रिरहेछ हाम्रै पैतालामुनिको माटो

जसले युगौँदेखि हाम्रो बोझ थाम्दै आएको छ !

••

६. नयाँ साल

(नया साल )

लक्ष्मीकान्त मुकुल

 

रुखहरूमा पलाउँछन् नयाँ आँकुरा

खलाहरूबाट आउँछ नयाँ अन्नको सुगन्ध

कल्पनामा तिमी आउँछ्यौ

लिचीको मधुर आभास लिएर

मुसुरोका निला फूल जस्तो साडी लहराउँदै

मानौँ पहिलोचोटि आएको हो जीवनमा

नयाँ सालको बिहान !


 {साभार _ sahityapost.com }

No comments:

लक्ष्मीकांत मुकुल के दूसरे काव्य संग्रह "घिस रहा है धान का कटोरा" पर वरिष्ठ कवि विजय सिंह की समीक्षा

समकालीन हिंदी कविता के वरिष्ठ कवि और "सूत्र" पत्रिका के संपादक जगदलपुर निवासी श्री विजय सिंह जी ने मेरे कविता संकलन "घिस रहा ...